उसलाई बुझ्न खोज्दा
“आ… कति झगडा गर्छन् आमा बुवा… भोलि टेस्ट छ बिज्ञानको। पढेको केहि छैन। मिस पनि कति धेरै टेस्ट लिनु हुन्छ … जहिले राति भयो कि घरमा किच्किच् सुरु भै हाल्छ। यसरी त कहाँबाट दिमागमा छिर्छ … जा पढ्दिन म”
“एकछिन पढ्न बस्न पाएको छैन, कति काम अह्राएको होला। दिक्क लाग्दो। कति घाँस काट्न जानु पर्ने … सक्दिन म त … ह्या कति कराएको भन्या, एक छिन पढ्न दिए हुन्थ्यो नि, पढ्न मन लागेको बेला … ल ल गए म। अहिले घाँस काट, भकारो सोह्र, अनि एक छिनमा भात पकाउ, अनि फेरी भाँडा माँझ … काम सकाउ अनि तेतिन्जेल त पढ्न नि मन लाग्दैन … फेरी होमवोर्क पनि कति हो … आ……”
“मलाई साँच्चिकै सुध्रिन मन छ … कोशिस पनि गर्छु तर म सक्दिन बुझ्न … शायद पहिले नै ध्यान दिनु पर्थ्यो होला … अब त निक्कै अबेर पो भयो कि … फर्स्ट बेन्चमा बसेर ध्यान दिन सकिन्छ कि भनेर बस्छु फेरी टोलाउन पुग्छु … आ … पढ्दिन। घरमा आमा बुवालाई त चासो छैन, मलाई के मतलब। बिहान देखि आमा बुवा दुइटै खाएर मस्त हुन्छन्, मेरो कसलाई चासो छ र।”
कोही सबैको गाली खाएका, कोही केहि नखाएका त कोही हरेश खाएका … यस्तै केहि न केहि खाएकाहरु हुन्छन् मेरो कक्षामा … every action has equal and opposite reaction भन्छन् … (I wish नभनेको भए हुन्थे) मेरा विद्यार्थीहरुका ती सबै कुराहरुको भादस त कहीं न कहीं निस्कनु थियो। सब से राम्रो र एक मात्र ठाउँ – स्कूल। स्कूलमा पनि दुई-तीनवटा option हरु छन्। एक – साथीहरु, दुई – शिक्षकहरु, फेरि सबै होइनन्। अलि strict नहुने सर मिस।
म मेरा बिद्यार्थीहरुलाई धेरै माया गर्छु तर देखाउन र भन्न सक्दिन। उनीहरुसंग हाँस ठट्टा गरि रमाइलो गर्छु, त्यहि भएर होला उनीहरु मलाई रिस पोख्ने उपयुक्त target थान्छन्। त्यहि भएर मनमा भएका रिस पोख्न हिच्किचाउदैनन्। रिस पोख्ने भनेको, दु:ख पोख्ने होइन … उनीहरुको भित्रका अप्ठ्यारा irritations हरुमा म थप घ्यू थप्न पुग्छु कहिले काँहि। अनि उनीहरु पड्किन्छन् … जोड संग … अनि मलाई पनि पड्किन विभस गर्छन्।
“घरको टेन्सन, फर्स्ट टर्मको question तेस्तै पाराको छ, भोक लागि सक्यो, मूड नै छैन पढ्न अनि मिस आएर भन्छन् आइतबार question paper को सबै उत्तर लेखि ल्याऊ। मलाई त्यो अलछिना question paper हेर्नु नै छैन।”
“ला हामीले धेरै नै बोलेछौँ कि क्या हो … मिस त रिसाउनु भएछ … ह्या … रिसाए रिसावोस … के मतलब …”
उनीहरुको attitude देखेर मलाई एकदमै सहन नसक्ने रिस उठ्छ … म गाली पनि गर्न सक्दिन … कराउन पनि सक्दिन … नेपालीमा कराउन मलाई अप्ठेरो लाग्छ, कुनै शब्दमा अद्किन्छु … फेरी बोल्दा के बोल्छु के, पछुताउने पो हो कि … फेरी बोल्दा tone ले नि निकै negative effect पार्छ। तेसैले बोर्डमा लेख्छु … एत्रा एत्रा handwriting ले …
म रिसाएको देखेर उनीहरु झन् बोल्न थाल्छन् … शायद they are letting go of the frustration in them. म teacher भएर रिसाउन सुहाउँदैन तर मलाई साह्रै नै रिस उठ्छ। सोच्छु म भने सबै छोडेर तिमीहरुको लागि केहि गर्न सक्छु कि भनेर आफुलाई यता उभाई राखेको छु भने तिमीहरु चाँहि यस्तो गर्ने? म घडी घडी समय हेर्छु कक्षा कति बेला सकिन्छ भनेर … घण्टी बज्छ र म class बाहिर जान्छु, स्कूल वरी परि बच्चाहरु देख्छु अनि सोच्छु … उनीहरुको जीवन भर उनीहरुलाई खुला साँढे जस्तो छोडियो … गल्ती गरे गोरुलाई जस्तो पिटियो। Discipline मा बस्नु पर्छ भनेर सबैले पढाए तर सिकाएनन् … नदेखेको कुरा बुझेनन् पनि शायद। न त घर म देखे न त स्कूलमा नै। त्यहि नबुझेको कुरा बनेन भनेर उल्टो गाली र कुटाई खाए।
सानै देखि यस्तो वातावरणमा हुर्केको, यस्तै व्यवहार सोसेछ्न क्यारे। अनि म एकै पल्ट आएर उनीहरुको बानीमा परिवर्तन हेर्न चाहने मुर्ख रहेछु। अनि स्वार्थी पनि रहेछु। मैले गाली गरिन, माया गरि पढाएर म उनीहरुबाट पनि त्यस्तै व्यवहारको आशा गर्ने रहेछु। अहिले सबै कुरा बुझ्छु तर थाहा छ फेरी कुनै दिन यस्तै परिस्थिति आएछ भने पुन: मेरो रिस पक्का उठ्नेछ।